काठमाडौँ। टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन्। घरेलु भूमिमा हुने युरो २०२४ उनको अन्तिम प्रतियोगिता हुनेछ।
स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका उनले युरोपछि क्लब छोड्ने निर्णयसमेत गरिसकेका छन्। क्रुसले यसअघि नै जर्मन राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए। तर, युरोको लागि उनले सन्न्यास फिर्ता लिएका थिए।
क्रुस सन् २०१४ देखि रियलमा छन्। उनले रियलमा रहँदा ४ च्याम्पियन्स लिग र ४ ला लिगा उपाधि जितेका छन्। ‘टोनी क्रुसले युरोपछि एक व्यावसायिक फुटबल खेलाडीको रूपमा आफ्नो क्यारिअर समाप्त गर्ने निर्णय गरेका छन्,’ रियलले विज्ञप्ति जारी गर्दै भनेको छ।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रियल सधैँ क्रुसको घर रहने बताएका छन्। ‘टोनी क्रुस रियलको इतिहासमा एक महान् खेलाडी हुन् र यो क्लब उनको घर हो र सधैँ रहनेछ,’ उनले भने।