काठमाडौँ। पाओलो मोन्टेरो युभेन्ट्सको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन्।
गत साता मासिमिलियानो एलेग्री बर्खास्त भएपछि सिजनका बाँकी खेलका लागि युभेन्ट्सका यू–१९ टोली हेरिरहेका उनलाई प्रशिक्षको जिम्मेवारी दिइएको हो।
बियानकोनेरीबाट खेलेका ५२ वर्षीय मोन्टेरोले सिरी ‘ए’ टोलीलाई कहिल्यै पनि प्रशिक्षण दिएका छैनन्। मोन्टेरोले आइतबार आफ्नो पहिलो प्रशिक्षण सत्रको जिम्मेवारी सम्हालेका थिए।
सोमबार राति टोलीले बोलोग्रासँग खेलेको थियो। तर, उक्त खेल ३-३ गोलको बराबरीमा सकिएको थियो। युभेन्ट्सले अर्को साता मोन्जासँग घरेलु मैदानमा खेल्दै सिजनको अन्त्य गर्नेछ।
गत साता इटालियन कपको फाइनलमा रेफ्रीप्रति आक्रोश पोखेको भन्दै एलेग्रीलाई बर्खास्त गरिएको थियो। खेलपछि प्रशिक्षक पत्रकारप्रति आक्रामक देखिएका थिए। युभेन्ट्सले उनको व्यवहार क्लबको ‘मूल्यमान्यता’ अनुरूप नभएको बताएको थियो।
इटालियन सिरी ‘ए’ मा चौथो स्थानमा रहेको युभेन्टस अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ। तर, बुधबार इटालियन कप जित्नुअघि उसले यसअघिका ६ खेलमध्ये कुनै पनि जित्न सकेको थिएन।
पूर्वडिफेन्डर मोन्टेरोले सन् १९९६ देखि २००५ सम्म युभेन्ट्सका लागि करिब ३०० खेल खेलेका थिए।