काठमाडौँ । काठमाडौँ किकर्स फुटबल एकेडेमीको यू–१४ टोलीले जर्मनीको म्युनिखमा जारी बालबालिकाहरूको चर्चित फुटबल प्रतियोगिता भीआर बैंक कपमा दोस्रो दिन पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेको छ।
राउन्ड रोविन लिगको ६ खेल खेलिसक्दा किकर्सले अंक तालिकामा शीर्ष स्थान कायम गरेको छ।
किकर्सको यू–१४ टोली रहेको समूहमा जर्मनीको विभिन्न एकेडेमीबाट आएका अन्य १० टोली समावेश छन्। ६ खेलबाट पाँचमा जित र एकमा बराबरीको नतिजा निकालेको यू–१४ टोलीको १६ अंक छ।
किकर्सको यू–१४ टोलीले आइतबार बिहान खेलिएको पहिलो खेलमा एसजी एजेन्बाङलाई ५–१ गोल अन्तरले पराजित गर्यो। टोलीको जितमा नोर्गेल शेर्पा, आशुतोष महतारा, आर्यवीर सिंह र स्वर्णिम राईले एक एक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको थियो।
यस्तै दोस्रो दिनको दोस्रो खेलमा किकर्सको यू–१४ टोलीले एससी उन्टरफाफ्फेनहोफेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । टोलीको यो जितमा अरहान बास्कोटा, आर्यवीर सिंह र गुगल बसौलाले गोल गरे।
किकर्सको यू–११ टोलीले भने प्रतियोगिताको दोस्रो दिन आफ्नो प्रदर्शनमा सुधार ल्याउन सकेन। यू–११ टोलीले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा एमपी आम्परमुससँग २–१ तथा दोस्रो खेलमा एसभी औबीङको पहिलो टोलीसँग १–० गोलको हार बेहोरेको छ।