काठमाडौँ। लिभरपुलका मुख्य प्रशिक्षक जुर्गेन क्लोपले आइतबार एनफिल्डमा बिदा लिँदै आफ्नो सम्भावित उत्तराधिकारी अर्ने स्लटको रहेको बताएका छन्।
सन् २०२१ देखि डच क्लब फेयेनोर्डका प्रशिक्षक रहेका स्लटले शुक्रबार आफू लिभरपुलको नयाँ प्रशिक्षक बन्ने बताएका थिए। यद्यपि, लिभरपुलले आधिकारिक रूपमा क्लोपको प्रतिस्थापनको रूपमा उनको आसन्न आगमनमा टिप्पणी गरेको छैन।
क्लोपले एनफिल्डमा करिब ९ वर्ष बिताएका थिए। उनको अन्तिम खेल उल्भरह्याम्पटनमाथि २–० गोल अन्तरको जित थियो।
लिभरपुलका समर्थकले अर्ने स्लटको नारा लगाइरहँदा क्लोपले माइक्रोफोनबाट चिच्याउँदै भने, ‘तपाईंले मलाई स्वागत गरेजस्तै नयाँ म्यानेजरलाई स्वागत गर्नुहुन्छ र विश्वास गरिरहनुहुन्छ।’
डच लिगमा आइतबार एक्सेलसियरमाथि ४–० गोल अन्तरको जित निकाल्दै स्लटले फेयेनोर्डबाट बिदा लिएका छन्। यसअघि नै ४५ वर्षीय स्लटका लागि फेयनोर्डलाई १ करोड १० लाख युरो (१ करोड १७ लाख अमेरिकी डलर)क्षतिपूर्ति दिन लिभरपुल सहमत थियो। उनले सन् २०२१ देखि फेयेनोर्डलाई प्रशिक्षण दिइरहेका छन्। गत वर्ष लिग र यस सिजन डच कप जितेका थिए।