काठमाडौँ। गोलरक्षक एडरसनले कोपा अमेरिका गुमाउने भएका छन्। इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीबाट खेल्दा उनको आँखाको सकेट भाँचिएको थियो।
खेल्न नसक्ने भएपछि ब्राजिलका प्रशिक्षक डोरिभल जुनिअरले उनको स्थानमा साओ पाउलोका राफेललाई टोलीमा समावेश गरेका छन्।
जनवरीमा राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका जुनिअसँग यसअघि नै लिभरपुलका गोलरक्षक एलिसन र एथ्लेटिको पारानेन्सका बेन्टो ब्याकअपको रूपमा रहेका छन्।
युभेन्ट्सका डिफेन्डर ब्रेमर, एटलान्टाका मिडफिल्डर एडरसन र पोर्टोका फरवार्ड पेपेलाई आइतबार टोलीमा समावेश गरिएको छ।
दक्षिण अमेरिकी फुटबल संस्था कन्मेबोलले बिहीबार एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ। विश्व विजेता अर्जेन्टिनासहित विभिन्न टोलीले प्रतियोगिताका लागि खेलाडीको संख्या बढाउन माग गरेका थिए।
महादेशीय प्रतियोगिता २० जुनदेखि अमेरिकामा शुरू हुनेछ। ब्राजिलले आफ्नो पहिलो खेल २४ जुनमा कोस्टारिकासँग खेल्नेछ। ब्राजिलले प्रतियोगिताअघि अमेरिका र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्नेछ।