काठमाडौँ। आर्सनल इङ्लिस प्रिमियर लिगमा पुनः उपविजेतामा सीमित भएको छ।
एमिरेट्स स्टेडियममा आइतबार राति सम्पन्न खेलमा पाहुना टोली एभर्टनमाथि २-१ गोल अन्तरको जित हासिल गरेपनि आर्सनल उपविजेता बनेको हो।
आइतबार नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी पराजित भएको या बराबरीमा रोकिएको भए आर्सनलले २१ वर्षपछि उपाधि खडेरी तोड्ने समीकरण थियो।
तर, आर्सनल अनूकूल नतिजा आइदिएन। सिटीले आइतबार नै सम्पन्न अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पाखा लगायो।
जितसँगै सिटीले ३८ खेलबाट ९१ अंकसहित १०औँ पटक लिग जित्यो। आर्सनलको भने समान खेलबाट ८९ अंक पुग्यो। जुन लिग विजेता सिटीको भन्दा २ अंक कम हो।
गत संस्करण पनि आर्सनललाई ५ अंकले पछि पार्दै सिटीले उपाधि जितेको थियो। आर्सनलको जितमा ताकेहिरो तोमियासु र काई हावर्ट्जले गोल गरे। एभर्टनका इड्रिसा गण गुएएको गोल सान्त्वना बन्यो।
खेलको ४०औँ मिनेटमा इड्रिसा गण गुएएले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै मार्टिन ओडेगार्डको पासमा ताकेहिरो तोमियासुले गोल गर्दै खेल बराबरीमा ल्याए।
८९औँ मिनेटमा ओडेगर्डको पासमा काईले गोल गर्दै आर्सनललाई जित दिलाए। तर, त्यो प्रयाप्त बनेन।