काठमाडौँ। मनोहरा युनाइटेड यूथ क्लबलाई पराजित गर्दै झम्सिखेल यूथ क्लब शहीद स्मारक ‘सी’ डिभिजनको छैटौँ स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न दिनको दोस्रो खेलमा झम्सिखेलले मनोहरालाई ३–० गोल अन्तरले पराजित गरेको हो।
छैटौँ स्थानमा उक्लिएको झम्सिखेलको ९ खेलबाट १३ अंक पुगेको छ। पराजित मनोहराले भने तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।
मनोहराको समान खेलबाट १४ अंक रहेको छ। झम्सिखेलको जितमा आकाशबहादुर राना, विवश लिम्बु र अरुण मेचेले गोल गरे।
पहिलो हाफको ३१औँ मिनेटमा आकाशले गोल गरे। त्यसको दुई मिनेछपछि नै विवशले अर्को गोल थपे। ६७औँ मिनेटमा अरुणले गोल गर्दै झम्सिखेललाई ३–० को सहज जित दिलाए।