काठमाडौँ। गोलबजार स्पोर्ट्स क्लबलाई पराजित गर्दै आरसी–३२ शहीद स्मारक ‘सी’ डिभिजनको शीर्ष स्थानमा फर्किएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न पहिलो खेलमा आरसी–३२ ले गोलबजारलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
आरसी–३२ को जितमा सुजन बलम्पाकी मगर र आशिष लावतीले १/१ गोल गरे। यता, गोलबजारका लागि विनु आलेमगरले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै आरसी–३२ ले ९ खेलबाट १९ अंक जोडेको छ। पराजित गोलबजार भने समान खेलबाट ५ अंकसहित पुछारमा छ।
खेलको ३६औँ मिनेटमा सुजनको गोलमार्फत आरसी–३२ ले शुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको आरसी–३२ ले दोस्रो हाफमा थप १ गोल थप्यो।
६४औँ मिनेटमा विनुले पेनाल्टीमार्फत गोल गर्दै गोलबजारलाई १/१ बराबरीमा ल्याए। त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा आशिषले गोल गर्दै आरसी–३२ लाई २–१ को रोमाञ्चक जित दिलाए।