काठमाडौँ। इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति सम्पन्न खेलमा एटलान्टाले लेचेलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।
एटलान्टा दुई वर्षपछि च्याम्पियन्स लिगमा पुनरागमन गर्दैछ। युरोपको शीर्ष क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा एटलान्टाको सबैभन्दा राम्रो नतिजा भनेको सन् २०२० को क्वार्टरफाइनलमा पुग्नु थियो।
यसपटक एटलान्टा सिरी ‘ए’ को अंक तालिकामा पाँचौँ स्थानमा छ। एटलान्टाले ३६ खेलबाट ६६ अंक जोडेको छ। छैटौँ स्थानमा रहेको रोमाभने ६ अंकले पछाडि परेको छ। एटलान्टा पनि चौथो स्थानको युभेन्ट्सभन्दा एक अंकले पछि रहेको छ।
अर्को सिजनको च्याम्पियन्स लिगमा इटालीका ५ टोलीले सहभागिता जनाउने छन्। इटालियन कपको फाइनलमा युभेन्ट्ससँग १–० गोल अन्तले पराजित भएको एटलान्टाका लागि ब्रेकको ५ मिनेटपछि चार्ल्स डी केटेलियर र स्क्यामाक्काले गोल गरेका थिए।
स्क्यामाकाले यस सिजन सबै प्रतियोगिताका ४१ खेलमा १८ गोल र ७ असिस्ट गरेका छन्। एटलान्टासँगै इन्टर मिलान, एसी मिलान, बोलोनिया र युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरिसकेका छन्।