काठमाडौँ। प्रशिक्षक क्विक सान्चेज फ्लोरेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब सेभिल्ला छाड्ने भएका छन्।
सान्चेज गत डिसेम्बरमा डिएगो एलोन्सोको स्थानमा सेभियामा भित्रिएका थिए। उनले रेलिगेशन जोन (१७औँ स्थान)मा रहेको क्लबलाई १२औँ स्थानमा ल्याइपुर्याएका थिए। १२औँ स्थानमा रहेको सेभिल्लाले यसपटक दुई खेल खेल्न बाँकी छ।
उनीसँग क्लबले अर्को वर्षसम्मको सम्झौता गरेको छ। तर, उनले सम्झौता रद्द गर्दै क्लब छाड्ने निर्णय लिएका हुन्। क्लबका अध्यक्ष जोसे मारिया डेल निडोले सान्चेज फ्लोरेसलाई धन्यवाद दिएका छन्। उनका अनुसार आफू र प्रशिक्षकले शुक्रबार अबेर यो निर्णय गरेका हुन्।
५९ वर्षीय फ्लोरेसले एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, गेटाफे, एस्पान्योल, बेनफिका र वाटफोर्डलाई प्रशिक्षण दिएका छन्।