काठमाडौँ। मायरा रामिरेजको दुई गोलको मद्दतमा म्यानचेस्टर युनाइटेडमाथि सहज जित हासिल गर्दै चेल्सीले लगातार पाँचौँ पटक महिला सुपर लिगको उपाधि जितेको छ।
ओल्ड ट्राफोर्डमा शनिबार सम्पन्न खेलमा घरेलु टोली युनाइटेडलाई ६–० गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो।
समान ५५ अंक रहेपनि पनि म्यानचेस्टर सिटीभन्दा चेल्सी गोल अन्तरले अगाडि रह्यो। चेल्सीले प्रतियोगितामा ७१ गोल गरेको थियो भने १८ गोल खाएको थियो। सिटीले शनिबार नै भएको लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको थियो। सिटीले लिगमा ६१ गोल गर्दै १५ गोल खाएको थियो।
पहिलो हाफमा मायाराले २ र जोहाना रिटिङ केनरिड र सोइके नुस्केनले १/१ गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा मेलानी लुपोल्ज र फ्रान किर्बीले १/१ गोल थपेपछि चेल्सीले सहज जित हासिल गरेको थियो।
यो सिजन चेल्सीले चार उपाधि जित्ने लक्ष्य राखेको थियो। तर, चेल्सी डब्ल्यूएसएल कपको फाइनलमा आर्सनलसँग पराजित भयो।
एफए कपको सेमिफाइनलमा युनाइटेडसँग पराजित भएको चेल्सी महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनासँग पराजित भएको थियो।