काठमाडौँ। उपाधि जितिसकेको बायर लेभरकुजनले अपराजित रहँदै बुन्डेसलिगाको यस सिजन अन्त्य गरेको छ।
भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचको गोलको मद्दतमा लेभरकुजनले सिजनको अन्तिम खेलमा अग्सबर्गमाथि २–१ को जित हासिल गरेको हो।
खेलको १२औँ मिनेटमै बोनिफेसले गोल गर्दै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले अमिन अदलीको पासलाई सदुपयोग गरे। २७औँ मिनेटमा एन्ड्रिचले गोल गर्दै अग्रता दोब्बर बनाए।
६२औँ मिनेटमा मेर्ट कोमरले गोल गर्दै अग्सबर्गलाई २–१ को स्थितिमा ल्याएका थिए। बुन्डेसलिगामा लेभरकुजको ३४ खेलमा यो २८औँ जित हो।
लेभरकुजनले ३४ खेलमा २८ जित र ६ बराबरीसहित ९० अंक जोड्दै लिग समाप्त गर्यो। समान खेलबाट ३९ अंक जोडेको अग्सबर्ग ११औँ स्थानमा रह्यो। बायर्न म्युनिखको ११ वर्षे दबदबालाई अन्त्य गर्दै लेभरकुजनले अप्रिलमा उपाधि जितेको थियो।
युभेन्ट्सपछि युरोपका शीर्ष पाँच लिगमा अपराजित रहने लेभरकुजन पहिलो टोली हो। युभेन्ट्सले सन् २०११–१२ मा अपराजित रहँदै इटालियन सिरी ए जितेको थियो।
लेभरकुजनले सिजनमा कुनै पनि प्रतियोगितामा एक खेल पनि हारेको छैन। र, लेभरकुजनले आफ्नो अपराजित यात्रा ५१ खेलमा पुर्याएको छ।