काठमाडौँ। मिडफिल्डर इस्को अलार्कोनले युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन्। बायाँ खुट्टाको फिबुला (घुँडादेखि एंकलसम्मको भाग) भाँचिएसँगै उनले प्रतियोगिता गुमाउने पक्का भएको हो।
रियल मड्रिडका पूर्वप्लेमेकर ३२ वर्षीय इस्कोले यो सिजन रियल बेटिसबाट आफ्नो करिअरलाई पुनर्जीवित गरेका छन्। उनलाई र्को महिना जर्मनीमा हुने युरोमा स्पेनको टोलीमा पर्न सक्ने खेलाडीको रूपमा लिइएको थियो।
इस्कोले स्पेनबाट ३८ क्याप खेलेका छन्। तर, उनले सन् २०१९ देखि आफ्नो देशका लागि खेलेका छैनन्। प्रशिक्षक लुइस डे ला फुएन्टेले मे २७ मा आफ्नो टोलीको घोषणा गर्नेछन्। ‘म इस्कोको प्रशंसक हुँ। यो यो कुरा सार्वजनिक रूपमै भन्छु,’ लुइसले केही दिनअघि भनेका थिए।
लुइसको उक्त भनाइसँगै इस्कोले अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गर्न लागेको अड्कलबाजी गरिएको थियो। लास पाल्माससँग २–२ गोलको बराबरीमा रोकिएको खेलको पहिलो हाफमा ट्याकल गर्ने क्रममा घाइते भएपछि इस्कोलाई प्रतिस्थापन गर्नुपरेको थियो।
बेटिसले आइतबार रियल सोसिडाडसँग सिजनको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दा आफ्ना उत्कृष्ट खेलाडीबिना नै मैदान उत्रनेछ। सोसिडाड छैटौँ स्थानमा छ भने बेटिस एक अंकले पछि रहँदै सातौँ स्थानमा छ।
इस्कोले सन् २०१३ देखि २०२२ सम्म रियलबाट खेलेका थिए। उनले ५ पटक च्याम्पियन्स लिग र अन्य ट्रफी जितेका थिए।