काठमाडौँ। ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्सले ५२औँ वार्षिकउत्सव मनाएको छ। क्लबले शनिबार बागमती खेल मैदानमा वार्षिकउत्सव मनाएको हो।
ग्रासरुट फुटबल कार्यक्रमसहित शुरू गरिएको कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष विश्वासविक्रम शाहले गरेका थिए। सो कार्यक्रममा स्वर्गारोहण भएका क्लबका संस्थापक सुरेश मुडवरी, पूर्वसंरक्षक एवं ललितपुर महानगरपालिका १० का पूर्वअध्यक्ष नरसिंह व्यञ्जनकारलगायत क्लबलाई योगदान पुर्याउने सम्पूर्ण खेलाडी तथा शुभचिन्तकको सम्झनामा मौन धारण गरिएको थियो।
पूर्वअध्यक्ष महेश विष्ट र राजीव पौड्याललेक्लबको इतिहासबारे जानकारी गराएका थिए। क्लबका सदस्य तथा पूर्वमन्त्री ओमकार श्रेष्ठ, पूर्वअर्थराज्य मन्त्री तथा ललितपुर जिल्ला क्षेत्र नम्बर ३ का सांसद उदयशम्सेर राणाले क्लबको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रमका अतिथि एन्फाका पूर्वअध्यक्ष तथा क्लब एसोसिएसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरूको सीमित साधन र श्रोतको बाबजुद फुटबल खेलको विकासमा फ्रेन्ड्स क्लबले गरेको योगदानमाथि चर्चा गर्दै शहीद स्मारक लिगलाई व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।
सो अवसरमा क्लबबाट खेलेका पूर्वफुटबल खेलाडीहरूलाई सम्मानसमेत गरिएको थियो।