काठमाडौँ। फेनोर्डका प्रशिक्षक अर्ने स्लटले आफू इङ्लिस क्लब लिभरपुलको प्रशिक्षक बन्न लागेको दाबी गरेका छन्।
स्लटले लिभरपुलसँग आफूले वार्ता गरेको दाबी गरेका हुन्। यद्यपि, लिभरपुलले आधिकारिक रूपमा जर्गेन क्लोपको प्रतिस्थापनको रूपमा उनको आसन्न आगमनमा टिप्पणी गरेको छैन।
'म अर्को सिजन लिभरपुलको प्रशिक्षक हुने पक्का गर्न सक्छु,' एक्सेलसियरविरुद्ध आइतबार हुने डच सिजनको अन्तिम खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्लटले भने। स्लटले दुवै क्लबबाट आधिकारिक घोषणा छिट्टै हुने बताएका छन्।
लिभरपुलले यसअघि नै ४५ वर्षीय स्लटका लागि फेयनोर्डलाई १ करोड १० लाख युरो (१ करोड १७ लाख अमेरिकी डलर) क्षतिपूर्ति दिन सहमति जनाएको थियो । उनले सन् २०२१ देखि फेयेनोर्डलाई प्रशिक्षण दिइरहेका छन्। गत वर्ष लिग र यस सिजन डच कप जितेका थिए।
स्लटको तत्काल ध्यान यस हप्ता एक जितका साथ फेयनोर्डसँग सिजन अन्त्य गर्ने रहेको छ। 'यदि जित्यौँ भने हाम्रो ८४ अंक हुनेछ र हामी फेयेनोर्डको क्लब इतिहासको दोस्रो उत्कृष्ट टोली हुनेछौँ,' उनले फेयेनोर्ड वेबसाइटमा लेखेका छन्।
सोही दिन क्लोपले लिभरपुललाई ९ वर्षपछि उल्भरह्याम्पटनविरुद्ध घरेलु मैदानमा हुने खेलमा बिदाइ लिने छन्। गत महिना क्लोपले स्लटलाई लिभरपुलले मुख्य प्रशिक्षकमा नियुक्त गरे विश्वकै उत्कृष्ट क्लब बनाउने बताएका थिए।