काठमाडौं । मुख्य प्रशिक्षक विनोद दासले थाईल्याण्डमा हुने महिला टी ट्वान्टी स्मासमा नेपाली महिला क्रिकेटको वास्तविक धरातल थाहा हुने बताएका छन् ।
महिला क्रिकेटको गतिविधि शुन्य प्राय रहेको अवस्थामा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका दासले अन्तराष्ट्रिय स्तरमा महिला क्रिकेटको अवस्थामा बुझ्न थाईल्याण्ड भुमि उपयोगी हुने बताएका हुन् ।
पुर्व कप्तान समेत रहेका दासले नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । महिला क्रिकेट टिमले दुई महत्वपुर्ण प्रतियोगिता खेल्ने तय भएपछि दासलाई नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको थियो ।
‘लक्ष्य भनेको जितेर आउने हो । तर प्राय टिमविरुद्व अनविज्ञ छु । करिब दुई तीन हप्तामा टिम राम्रो बनेको छ । यसले अन्तराष्ट्रिय क्रिकेटमा महिला टिम कहाँ छ भन्ने देखाउँछ ।’ थाईल्याण्ड जानु अघि खेलपाटीसंग दासले भने ।
पहिलो पटक नेपाली महिला टिमको नेतृत्व गरेर थाईल्याण्ड निस्कन लागेका प्रशिक्षक दासले नेपालले राम्रो खेल्ने प्रयास गर्ने बताए । टिमको मुख्य लक्ष्य खेल जित्नुनै रहेको उल्लेख गर्दै उनले आफ्नो स्वभाविक खेल पस्किने उल्लेख गरे ।
‘फिटनेसमा ध्यान दिएका छौ । अन्य कुरामा भन्दा धेरै अभ्यास खेल गराएका छौ ।’ उनले थपे, ‘महिला टिमको बलियो र कमजोर पक्ष बुझ्न प्रतियोगिता उपयोग हुनेछ ।’
प्रतियोगिता खेल्न नेपाली टिम आज दिउँसो थाईल्याण्ड जानेछ । नेपाली टिम दिउँसो १ बजेर ५० मिनेटमा थाईल्याण्ड उड्नेछ । भोलीबाट सुरु हुने प्रतियोगिता जनवरी १८ सम्म चल्नेछ ।
प्रतियोगितामा थाइल्याण्डसंगै, नेपाल, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेलमा तान्जिनियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले तन्जिनियाविरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै १४ जनवरीमा नामिबिया, १५ मा इन्डोनेसिया र अन्तिम खेलमा नेपालले १७ जनवरीमा कुवेतसंग खेल्नेछ । दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान)
सिता राना मगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवर
डोली भट्ट
ममता कुमारी चौधरी
बिन्दु रावल
वैकल्पिक खेलाडी :
रितु कुमारी कन्जुनिया
सुमन बिष्ट
सबनम राई