काठमाडौँ। डेब्यू गरेको ९ वर्षपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिगबाट बिदाइ लिएका छन्। उनीसँग लिगका १९१ खेलमा २५६ गोलको क्लब रेकर्ड तालिकामा थप्ने अन्तिम मौका छ।
यद्यपि, उनले अन्तिम खेल खेल्न बाँकी छ। २५ वर्षीय एमबाप्पेले भने, ‘एउटा पाना पल्टिरहेको छ, मेरो जीवनको एउटा अध्याय बन्द हुँदैछ। म शिर ठाडो पारेर जान्छु, मैले सक्दो गरेँ।’
२५ मेमा लियोनविरुद्ध हुने फ्रेन्च कपको फाइनलमा पीएसजीको जर्सीमा उनको अन्तिम खेल हुनेछ। त्यसपछि एमबाप्पे स्पेनिस जायन्ट रियल मड्रिडमा अनुबन्ध हुने अपेक्षा गरिएको छ। तर, एमबाप्पे र मड्रिडले सम्झौताको आधिकारिक घोषणा गरेका छैनन्।
एमबाप्पेले फ्रान्समा खेल्दै भनेका छन्,‘म यसलाई मिस गर्नेछु। यो मैले चिनेको एक मात्र लिग हो।’ सन् २०१५ को डिसेम्बरमा स्टेड लुइस २ मा मोनाकोको जर्सीमा वैकल्प खेलाडीको रूपमा मैदान प्रवेश गर्दै उनले फ्रेन्च लिगमा डेब्यू गरेका थिए। त्यतिखेर उनी १७औँ जन्मदिन नजिक थिए।
केही महिना पछि उनले आफ्नो पहिलो गोल गरेका थिए। उक्त गोलसँगै एमबाप्पले फ्रान्सका थियरी हेनरीको नाममा रहेको सबैभन्दा कम उमेर गोल गर्ने कीर्तिमान भंग गरेका थिए।
अर्को सिजन एमबाप्पेले मोनाकोलाई लिग वानको उपाधि जितायो। सोही सिजन मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो।
एमबाप्पेले नेयमार जुनिअर, एन्जेलो डी मारिया, एडिन्सन काभानी र लिओनल मेसीजस्ता स्टार खेलाडीसँग खेलेका थिए। उनले पीएसजीबाट ६ वटा लिग उपाधि जितेका छन्।
एमबाप्पेले गत शुक्रबार आफू सिजनको अन्त्यमा क्लब छाड्न लागेको पुष्टि गरेका थिए। फ्रान्सेली फुटबलमा आफ्नो क्यारिअरको हाइलाइटहरू बिदाइ समारोहमा ठूलो पर्दामा देखाउँदा उनी भावुक भएका थिए।
‘जब मैले फुटेज हेरेँ, मलाई लाग्यो कि मेरो जीवनको एउटा भाग निभेको छ। मानिसहरुले मबाट सधैँ धेरै अपेक्षा गर्नेछन्। यो सामान्य कुरा हो र मलाई यो सधैँ मन पर्छ,’ उनले भने।
सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो।
यसपटक भने बोरुसिया डर्टमन्डसँग दुवै लेगमा पराजित हुँदै पीएसजी सेमिफाइनलबाट बाहिरियो। बोरुसियाले दुवै खेल १–० गोलले जितेको थियो।