काठमाडौँ। दुई दशक लामो सक्रिय खेल जीवनमा औपचारिक पूर्णविराम लगाउँदा भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्री थकथक मानिरहेका थिए।
उनी भनिरहेका थिए, ‘मेरो छोराले म मैदानमा खेलेको देखुन् भन्ने चाहन्थेँ। बुबाको करिअर कस्तो रह्यो त्यो छोराले थाहा पाउनुपर्थ्यो।’
गत वर्ष अगस्टमा सुनीलको छोराको जन्म भएको थियो। उनकी श्रीमती सोनम भट्टाचार्यले छोरालाई सुनीलले खेलेको खेल हेराउन लिएर गएका थिए। तर, सायद सुनीलका छोरा ध्रुवलाई आफ्नो बुबाले खेलको खेलबारे केही याद हुने छैनन्। तर, छोरा ध्रुवले थाहा नपाएपनि सुनीलले भारतीय फुटबल कति योगदान दिएका छन्, त्यो सायद संसारलाई नै थाहा छ।
सुनीलको जन्म ३ अगस्ट १९८४ मा सिकन्दराबादमा भएको थियो। तर, उनले आफ्नो बाल्यकाल दार्जिलिङमा बिताए। बुबा केबी सुनील सेनाको इलेक्ट्रिकल र मेकानिकल कोर्पमा अफिसर थिए।
उनी सेनाको फुटबल टोलीमा पनि आबद्ध भएर फुटबल खेले। आमा सुशीलाले पनि जुम्ल्याहा बहिनीसँगै नेपालको राष्ट्रिय महिला फुटबल टोलीको प्रतिनिधित्व गरिसकेका थिए। त्यसैले सुनीलको रगतमै फुटबल थियो।
यही कारण उनले दार्जिलिङको बेथानी स्कुलमा पढ्दापढ्दै सानै उमेरमा फुटबल खेल्न थाले। त्यही स्कुलले प्रतियोगितामा सहभागिता जनाउँदा जनाउँदै उनी सन् २००१ मा १६ वर्षको उमेरमा फुटबल सिक्न दिल्ली पुगेका थिए।
सन् २००२ मा उनी सिटी क्लबमा आबद्ध भए। उनले सोही वर्ष आयोजना भएको डुरान्ड कपमा सिटी क्लबको प्रतिनिधित्व गरे। तर, उनको टोली क्वार्टरफाइनलमा पुग्न असफल भयो। उक्त प्रतियोगितामा सुनीलले चार खेल खेल्दै १ गोल गरे। उनी प्रतियोगितामा ‘इमर्जिङ’ खेलाडी घोषित भए।
‘उनी सिटी क्लब दिल्लीका लागि खेलिरहेका थिए। सन् २००२ मा भारतीय क्याम्पबाट फर्केपछि मैले उनलाई पहिलो पटक देखेको थिएँ। मैले उनीमा उत्साह देखेँ र हामी सबैले उनको प्रतिभाको बारेमा कुरा गर्यौँ,’ भारतीय फुटबल टोलीका रेनेडी सिंहले स्पोर्ट्स नाउसँग भने, ‘त्यसपछि उनलाई हामीले क्लबमा ट्रायलका लागि बोलायौँ।’
उनलाई ‘ट्रायल’को लागि कोलकाता बोलाइएको थियो। एक हप्ताको ‘ट्रायल’ पास गरे र उनले मोहन बगान पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गरे। मोहन बगानमा आबद्ध भएपछि सुनीलको करिअरले सही दिशा पायो।
क्लबसँगको आफ्नो पहिलो सिजन २००२–०३ मा सुनीलले ४ गोल गरेका थिए। उक्त सिजन मोहन बगान तालिकाको सातौँ स्थानमा पुग्यो। अर्को सिजन उनका लागि सम्झन योग्य रहेन। उनले स्पोर्टिङ गोवा र इन्डियन बैंकविरुद्ध २ गोल गरे। उक्त सिजन मोहन बगानलाई समेत खराब रह्यो। मोहन बगान तालिकाको नवौँ स्थानमा पुग्यो।
२००४–०५ सिजनमा उनले टोलिगञ्ज अग्रगामीविरुद्ध ह्याट्रिक गरे। वैकल्पिक खेलाडीको रूपमा आएका उनले ह्याट्रिक गरेपछि मोहन बगान खेलमा ४–० गोल अन्तरले विजयी भयो। उक्त वर्ष मोहन बगान लिगमा आठौँ स्थानमा रह्यो र गोल अन्तरमा राष्ट्रिय फुटबल लिगमा रहिरह्यो।
तर, सुनीलको ‘स्टारडम’को उदय निकै पछि शुरू भयो। मोहन बगानका लागि १८ खेल खेलेपछि उनले भारतीय यू–२० लगभग दुई वर्षपछि मात्रै स्थान बनाए। ३० मार्च २००४ मा सुनीलले पाकिस्तानमा आयोजना भएको दक्षिण एशियाली खेलकुदमा भारतीय टोलीको प्रतिनिधित्व गरेका थिए।
पाकिस्तानविरुद्धको खेलमा डेब्यू गरेका उनले गोल भने गर्न सकेनन्। यद्यपि, उक्त खेलमा भारत १–० गोल अन्तरले विजयी भयो। ३ अप्रिल २००४ मा भारतले भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दा उनले २ गोल गरेका थिए। सोही प्रदर्शनको आधारमा उनले १२ जुन २००५ मा पाकिस्तानविरूद्धको खेलमार्फत सिनिअर टोलीमा डेब्यू गरे र पहिलो गोल गरे।
सुनीलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता नेहरु कप थियो। सन् २००७ को प्रतियोगिताको उद्घाटन खेलमा सुनीलले २ गोल गरेसँगै भारतले कम्बोडियालाई ६–० गोल अन्तरले हराएको थियो। उनले सिरियासँग (२–३ को पराजय) र किर्गिस्तानसँग (३–० जित) १/१ गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ४ मा पुर्याए।
उक्त प्रतियोगिताको फाइनलमा सिरियालाई १–० गोल अन्तरले हराउँदै भारत सन् १९९७ पछि पहिलो च्याम्पियन बनेको थियो। उक्त खेलमा पप्पाचेन प्रदीपले निर्णायक गोल गरेका थिए। उक्त गोलका लागि सुनीलले नै पास मिलाइदिएका थिए।
सन् २००८ को साफ च्याम्पियनसिपमा भारतले समूह चरणमा शतप्रतिशत जित हासिल गरेको थियो। उद्घाटन खेलमा भारतले नेपाललाई ४–० गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलमा सुनीलले १ गोल गरेका थिए।
तर, पाकिस्तान र मालदिभ्सविरुद्ध भने उनी चल्न सकेनन्। सेमिफाइनलमा भारतको भेट भुटानसँग भएको थियो। भुटानलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दा सुनीलले १ गोल गरेका थिए।
फाइनलमा मालदिभ्ससँग भारत १–० गोल अन्तरले पराजित भयो। उक्त खेल सुनीलले पूरा ९० मिनेट खेले। त्यसपछि सन् २००८ एएफसी च्यालेन्ज कपमा उनले सबै खेल खेले र ४ गोल गरे। उनले ताजिकिस्तानविरुद्धको फाइनलमा ह्याट्रिक गरे। योसँगै भारतले प्रतियोगिताको उपाधि जित्यो र उनी ‘पोस्टर ब्वाई’ भए।
यो प्रतियोगिता जितेसँगै भारत सन् २०११ मा २४ वर्षपछि एशिया कपमा स्वतः छनोट भयो। सन् २०११ को एशियन कपमा भाइचुङ भुटियाको सन्न्यासपछि तत्कालीन प्रशिक्षक बब हटनले उनलाई कप्तानी जिम्मेवारी सुम्पिए। १६ नोभेम्बर २०११ मा साल्टलेक स्टेडियममा खेलिएको मैत्रीपूर्ण खेलमा मलेसियाविरुद्ध भारतका लागि सुनीलले ३९औँ र ५३औँ मिनेटमा गोल गरेका थिए। खेल भारतले ३–२ गोल अन्तरले जितेको थियो।
सन् २०११ मा उनलाई कन्सास सिटी विजार्ड्सले आफ्नो टोलीमा अनुबन्ध गर्यो। भारतको स्वतन्त्रता पछि उनी विदेशमा व्यावसायिक लिग खेल्ने दोस्रो खेलाडी बने।
सन् २०१३ मा पोर्चुगिज क्लब छाडेपछि सुनील बेंगलुरु फुटबल क्लबमा आबद्ध भए। यस अवधिमा उनले २३ खेलमा १४ गोल र ७ असिस्ट गरे। सन् २०१५ मा उनले ५० अन्तर्राष्ट्रिय गोल पूरा गरे। उनी ५० गोल गर्ने पहिलो भारतीय फुटबलर बने।
सन् २०१७ मा सुनीलले किर्गिस्तानविरुद्ध ६९औँ मिनेटमा गोल गर्दै इतिहास रचे। यो गोलका कारण भारत सन् २०१९ को एशिया कपका लागि छनोट भएको थियो। यो गोलसँगै उनी फिफाको शीर्ष १०० वरीयतामा समेत परे।
सन् २०१८ मा इन्टरकन्टिनेन्टल कपको समयमा सुनील डेभिड भिल्लासँगै विश्वको तेस्रो सक्रिय अन्तर्राष्ट्रिय गोलकर्ता बने। जुन ४ मा उनले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल खेलेका थिए। केन्याविरुद्धको खेलमा उनले २ गोल गरे। आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने उनी दोस्रो भारतीय फुटबल खेलाडी हुन्।
भारतका लागि १५० खेलमा सर्वाधिक ९४ गोल गरेका सुनीलले आफ्नो क्यारिअरको प्रारम्भिक दिनमा भुटियाजस्ता दिग्गज खेलाडीको अनुसरण गर्दै अगाडि बढेका थिए। तर, उनको सन्न्यासपछि सुनील आफैँले नयाँ ‘माइल स्टोन सेट’ गरे। सक्रिय खेलाडीमध्ये अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीपछि तेस्रो र समग्रमा चौथो स्थानमा रहे।
सन् २००८ मा एएफसी च्यालेन्ज कप, २०११ र २०१५ मा साफ च्याम्पियनसिप, २००७, २००९ र २०१२ मा नेहरु कप र २०१७ र २०१८ मा इन्टरकन्टिनेन्टल कप जिते।
सन् २०११ मा उनलाई अर्जुन पुरस्कार, २०१९ मा पद्म श्री र सन् २०२१ मा खेल रत्नबाट सम्मानित गरियो। यसबीचमा धेरै प्रतिभाशाली फुटबलरहरू जन्मे। तर, अन्य कुनै फुटबलरले सुनीलको स्थान लिन सकेनन्। मैदानमा उपलब्धिको नयाँ नयाँ कथा लेखेका उनले भारतीय फुटबलको नराम्रो उतारचढावलाई पनि नजिकैबाट नियाल्ने मौका पाए।
फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गर्दा होस् या पदाधिकारी र प्रशिक्षकमाथि यौन उत्पीडनको आरोप लाग्दा नै किन नहोस् उनी प्रत्यक्षदर्शी बने।
महासंघमा भएको भ्रष्टाचार र गुटबन्दी पनि उनले देखे। तर, भारतीय फुटबलमा आफ्नो उत्तराधिकारी नदेखेपछि अन्ततः सुनीलले बिहीबार ३९ वर्षीयको उमेरमा विगत एक दशकदेखि लगाइरहेको ‘आर्मब्यान्ड’ फुकाले र फुटबललाई अलबिदा भने।