काठमाडौँ। जर्मन प्रशिक्षक जुलियन नागेल्सम्यानले टोनी क्रुस र थोमस मुलरलाई समेट्दै घरेलु मैदानमा हुने युरो २०२४ का लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।
बिहीबार उनले २७ सदस्यीय टोली घोषणा गरेका हुन्। क्रुस लगभग तीन वर्षपछि मार्चमा राष्ट्रिय टोलीमा फर्केका थिए। क्रुस र मुलरका अतिरिक्त अलेक्जेन्डर नुबेल, मार्क आन्द्रे टेर स्टेगेन, ओलिभर बाउमन, जमाल मुसियाला, वाल्डेमार एन्टोन, बेन्जामिन हेनरिक्स र म्याक्सिमिलियन बेयर पनि टोलीमा समावेश भएका छन्।
हुमेल्ससँगै बायर्न म्युनिखका मिडफिल्डर लियोन गोरेट्ज्का र घाइते विंगर सर्ज ग्नाब्री भने अन्तिम टोलीमा अटाउन सकेनन्। कतार विश्वकप २०२२ खेल्दा जर्मन टोलीमा रहेका २६ मध्ये १२ खेलाडीलाई मात्रै प्रारम्भिक टोलीमा बोलाइएको छ।
अन्तिम टोली जुन ७ सम्ममा पेश गरिसक्नु पर्नेछ। यसमा २६ जनाभन्दा बढी खेलाडी राख्न पाइने छैन। जर्मनीले २६ मेमा युक्रेन र ७ जुनमा ग्रीससँग मैत्रीपूर्ण खेल खेल्दै युरोको शुरूआत गर्ने छ।
रियाल मड्रिडका खेलाडी एन्टोनियो रुडिगर र क्रुसका साथै डर्टमन्डका निको स्क्लोटरबेक र निकोलस फुलक्रुगले पहिलो हप्ताको प्रशिक्षण गुमाउने छन्। यसका साथै युक्रेनविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाउने सम्भावना छ।