काठमाडौँ। बायर लेभरकुजनले आक्रामक मिडफिल्डर फ्लोरियन विर्ट्जको फिटनेसबारे मूल्यांकन गरिरहेको छ।
प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा यो सिजन सबै प्रतियोगिताहरूमा लेभरकुजनले आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ५० खेलमा पुर्याएको छ। यो यात्रामा विर्ट्ज महत्त्वपूर्ण सदस्यका रूपमा रहेका छन्।
गत अप्रिल २१ मा बोरुसिया डर्टमुन्डसँग १–१ गोलको बराबरी खेल्दा तिघ्रामा चोट लागेपछि २१ वर्षीय विर्ट्जले पछिल्ला ५ खेलमध्ये १ मात्र खेलेका छन्।
‘मैले प्रशिक्षणपछि फ्लोरियनसँग कुरा गरेँ। उनको अवस्था राम्रो थियो। उनी कस्तो महसुस गरिरहेका छन् भनेर हामीले दिनदिनै हेर्नुपर्छ। तर, उनमा गम्भीर चोटपटक लागेको छैन,’ जाबीले भने।
बुन्डेसलिगामा शनिबार अग्सबर्गविरुद्ध हुने खेलको तयारीका क्रममा विर्ट्जले बुधबार अलग्गै अभ्यास गरेका थिए। लेभरकुजनले यसअघि नै उपाधि जितिसकेको छ र बुन्डेसलिगाको पूरै सिजन अपराजित रहने पहिलो टोली बन्ने लक्ष्यमा छ।
अलोन्सोको टोलीले अर्को बुधबार डबलिनमा हुने युरोपा लिगको फाइनलमा एटलान्टाको सामना गर्नेछ। त्यसको तीन दिनपछि बर्लिनमा जर्मन कपको फाइनलमा दोस्रो डिभिजनको काइसरस्लाउटर्नको सामना गर्नेछ।