काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को जनवरी र फेब्रुअरीमा पहिलो संस्करणको महिला क्लब विश्वकप खेलाउने तय गरेको छ।
पहिलो संस्करणमा १६ टोलीलाई सहभागिता गराउने निर्णय गरिएको छ। तर, फिफाले उक्त टोली कसरी छनोट हुन्छ र कहाँ खेल्छन्? भन्नेबारे केही खुलाएको छैन।
बार्सिलोना र लियोन युरोपियन वरीयताको शीर्ष स्थानमा छन्। यी दुई टोलीले सन् २०११ यता १० पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। अर्को फाइनल खेल २५ मेमा स्पेनको बिल्बाओमा हुनेछ। यसपटक बार्सिलोना र लियोन नै उपाधिका लागि भिड्ने छन्।
फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०१६ मा निर्वाचित भएदेखि नै फिफाले महिला फुटबलको विकासका लागि विश्वव्यापी क्लब प्रतियोगिता शुरू गर्ने योजना बनाएका थिए।
पुरुष संस्करणजस्तै यो प्रतियोगिता पनि हरेक चार वर्षमा आयोजना हुने छ।