काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।
जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई उल्टाउँदै उच्च अदालत पाटनले बुधबार लामिछानेलाई नाबालिग बलात्कारको मुद्दामा सफाइ दिएको थियो।
लगत्तै क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। ‘सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पीडित ‘गौशाला २६’ ले २०७९ भदौ २१ गते काठमाडौँको गौशाला प्रहरी कार्यालयमा लामिछाने विरुद्ध उजुरी दिएकी थिइन्। बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
तर, उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। यद्यपि, सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो। तर, गत पुस २५ गते जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएका थिए।
फैसलामा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर लामिछानेले बलात्कार गरेको जिल्ला अदालतको ठहर थियो। जिल्ला अदालतले उक्त फैसलासँगै क्यानले लामिछानेलाई गत पुस २६ गते निलम्बन गरेको थियो।