काठमाडौँ। विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउड मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन्।
फ्रान्स, इङ्ल्यान्ड र इटालीका शीर्ष व्यावसायिक लिगमा १८ वर्ष बिताएका ३७ वर्षीय जिराउडका मंगलबार औपचारिक रूपमा लस एन्जलस एफसीमा अनुबन्धित भएका हुन्।
इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोडेका जिराउड सन् २०२५ सम्म सम्झौता गर्दै एलएएफसीमा अनुबन्ध भएका हुन्। उनलाई यो सम्झौता १ वर्ष थप गर्नसक्ने सुविधा दिइएको छ।
जिराउडले सन् २०१२ देखि २०१८ सम्म आर्सनलमा ६ सिजन बिताएका थिए। त्यसपछि उनले चेल्सी र मिलानमा तीन–तीन वर्ष बिताए। तीन वर्षअघि चेल्सीबाट खेल्दै उनले च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनले आफ्नो क्लब करिअरको ७१६ खेलमा २८५ गोल गरेका छन्।
जिराउडले फ्रान्सेली राष्ट्रिय टोलीका लागि कीर्तिमानी ५७ गोल गरेका छन्। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए। उनले अर्को महिना शुरू हुने युरोपियन च्याम्पियनसिपमा फ्रान्सका लागि फेरि खेल्ने अपेक्षा गरिएको छ।
जिराउडले एलएएफसीका लागि कहिले डेब्यू गर्नेछन् भन्ने स्पष्ट छैन। तर, यो जुलाईको अन्त्यमा उनले डेब्यू गर्ने सम्भावना रहेको छ।
‘एलएएफसीमा आबद्ध हुन पाउँदा म निकै खुसी र उत्साहित छु,’ जिराउडले भने। जिराउडले मिलानका लागि थप दुई खेल खेल्दै सिजनको अन्त्य गर्नेछन्। उनी हाल १४ गोलका साथ सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा छन्।