काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जानकारी नै नगराई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङसहित ३ पदाधिकारी थाइल्यान्ड उड्ने भएका छन्।
उनीहरू थाइल्यान्डको राजधानी बैंककमा १७ मेमा आयोजना हुने ७४औँ फिफा कंग्रेसमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। त्यसतर्फ प्रस्थान गर्ने सूचीमा एन्फाका अध्यक्ष नेम्वाङसहित उपाध्यक्ष दीपक खतिवडा र केन्द्रीय सदस्य महेन्द्र क्षेत्री रहेका छन्।
उनीहरू मंगलबार थाई एअरको उडान नम्बर ३१० बाट राति १२:१० बजे बैंककतर्फ प्रस्थान गर्न लागेको एन्फा स्रोतले जनाएको छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (ञ)मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर मात्रै अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुदसम्बन्धी तालिम, सभा, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन पाइने भन्ने व्यवस्था उल्लेख छ।
तर, एन्फाका ३ पदाधिकारी उक्त व्यवस्थालाई बेवास्ता गर्दै बैंकक उड्न लागेका हुन्। राखेप संघसंस्था समन्वय समितिका प्रमुख चन्द्र राईले पनि स्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि ३ जनाले पत्र नपठाएको खेलपाटीलाई बताए।
‘खोइ यसबारे हामीलाई जानकारी नै छैन। स्वीकृति त लिनुपर्ने हो, तर स्वीकृतिका लागि अहिलेसम्म कसैले एक पत्रसमेत पठाएको छैन,’ उनले भने।