काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा लिभरपुल इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ।
भिल्ला पार्कमा सोमबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टोलीसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। बराबरीसँगै लिभरपुल ३७ खेलबाट ७९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।
समान खेल खेलेको भिल्ला ६८ अंकसहित चौथो स्थानमा छ। खेलको दोस्रो मिनेटमै लिभरपुलले एमिलियानो मार्टिनेजको आत्माघाती गोलमार्फत शुरूआती अग्रता लिएको थियो।
तर, १२औँ मिनेटमा यरी टिलेम्यान्सले गोल गर्दै खेल बराबरीमा फर्काए। उनले ओली वाटकिन्सको पासमा गोल गरे। २३औँ मिनेटमा कोडी गाक्योले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए।
४८औँ मिनेटमा हार्वो इलियटको पासमा जेरेल क्वान्साहले गोल गर्दा लिभरपुल ३-१ को स्थितिमा थियो। ५२औँ मिनेटमा ओलीको गोललाई भीएआरले मान्यता दिएन।
८५औँ मिनेटमा जोन डुरानले क्यालम चेम्बर्सको पासमा गोल गर्दै भिल्लालाई ३-२ को स्थितिमा ल्याए। ८८औँ मिनेटमा डुरानले नै मुसा डायबीको पासमा गोल गर्दै खेल ३-३ को बराबरीमा सक्काए।