काठमाडौँ। म्यानचेस्टर सिटी र टोटनह्यामबीचको खेलअघि पेप ग्वार्डिओलाले आफ्ना खेलाडीमाथि दबाब बढाएका छन्।
प्रिमियर लिगमा दुई खेल बाँकी रहँदा डिफेन्डिङ च्याम्पियन सिटीले उपाधि जित्ने निश्चित हुन अधिकतम अंक बटुल्न आवश्यक छ। प्रतिद्वन्द्वी आर्सनलले एक खेल बढी खेलेको छ। लिग लिडर आर्सनलको ३७ खेलबाट ८६ अंक रहेको छ। एक खेल कम खेलेको सिटीको ८५ अंक रहेको छ।
अंक तालिकाको शीर्ष स्थानमा आर्सनल रहँदा ग्वार्डिओलाले आफ्ना खेलाडीलाई लगातार चौथो पटक उपाधि जित्न मंगलबार हुने टोटनह्यामसँगको खेल गर या मरको स्थितिमा रहेको बताएका छन्।
‘हामीसँग एउटा मात्र विकल्प छ, खेल जित्ने। हामी त्यसका लागि टोटेनह्याम हटस्पर स्टेडियमको यात्रा गर्छौँ,’ सोमबार आयोजित पत्रकार प्रि–म्याच कन्फ्रेन्समा उनले भने, ‘यदि यो खेल जितेनौँ भने हामीले प्रिमियर लिग जित्न सक्दैनौँ।’
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो। मंगलबार टोटेनह्याममाथि जित हासिल गर्न सके सिटीले शीर्ष स्थानमा रहँदै दुई अंकको अग्रता बनाउनेछ।
टोटेनह्याम हट्सपर स्टेडियममा प्रिमियर लिगका पछिल्ला ४ खेलमा हार बेहोरेको सिटी गत डिसेम्बरदेखि लिगमा अपराजित रहेको छ। पछिल्ला ७ खेलमा सिटी जित हासिल गर्न सफल भएको छ।