काठमाडौँ। रियल मड्रिड र बोरुसिया डर्टमुन्डबीच हुने च्याम्पियन्स लिगको फाइनल खेल स्लोभेनियाका रेफ्री स्लाभको भिनिसिचले खेलाउने भएका छन्।
सन् २०२२ को युरोपा लिगको फाइनलमा इन्ट्राच्ट फ्रान्कफर्टले रेन्जर्सलाई पराजित गर्दा ४४ वर्षीय भिनिसिचले मुख्य रेफ्रीको भूमिका निर्वाह गरेका थिए। ती नै भिनिसिचले जुन १ मा वेम्बलीमा हुने च्याम्पियन्स लिगको फाइनल खेल खेलाउने जिम्मेवारी प्राप्त गरेका हुन्।
भिनिसिचले यस सिजन च्याम्पियन्स लिगका ५ खेलमा पेनाल्टी किक नदिई र रातो कार्ड नदेखाई खेल खेलाएका छन्। क्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडमाथि डर्टमन्डले ४–२ गोल अन्तरको जित दर्ता गर्दा उनी नै रेफ्री थिए।
उनले सन् २०२२ को विश्वकपका २ खेल खेलाएका थिए। जसमा विश्वकप विजेता अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ गोल अन्तरको हार बेहोरेको खेल पनि समावेश छ।
यस्तै, यूईएफएले महिला च्याम्पियन्स लिगको फाइनलका लागि इङ्लिस रेफ्री रेबेका वेल्च, युरोपा लिगको फाइनलका लागि रोमानियाकी इस्तवान कोभाक्स र युरोपा कन्फ्रेन्स लिगको फाइनलका लागि पोर्चुगलका आर्टुर सोरेस डायसलाई छनोट गरेको छ।
कोभाक्सले आफ्नो दोस्रो युरोपियन फाइनल खेलाउँदै छन्। उनले सन् २०२२ मा युरोपा कन्फ्रेन्स लिगको पहिलो फाइनल खेल खेलाएका थिए। उक्त खेलमा रोमाले फेनोर्डलाई हराएको थियो।
सोमबार छनोट भएका तीनै जना रेफ्री जुन १४ देखि जर्मनीमा शुरू हुने युरोपियन च्याम्पियनसिपका लागि यूईएफएको म्याच अफिसियल टोलीमा रहेका छन्।
युरोपा लिगको फाइनलमा बायर लेभरकुजन र एटलान्टा भिड्ने छन्। यो खेल २२ मेमा डबलिनमा हुनेछ। डिफेन्डिङ च्याम्पियन बार्सिलोना र लियोनबीचको महिला च्याम्पियन्स लिगको फाइनल खेल २५ मेमा स्पेनको बिलबाओमा हुँदैछ।
युरोपा कन्फ्रेन्स लिगको फियोरेन्टिना र ओलम्पियाकोसबीचको फाइनल खेल २९ मेमा एथेन्समा हुनेछ।