काठमाडौँ। ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन्।
क्लब इजाजतपत्र इकाई निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी)ले चर्च ब्वाइज र आर्मीलाई २०२४/२०२५ का लागि क्लब लाइसेन्स दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो।
योसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइजलाई एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने बाटो खुलेको छ। यसपटक चर्च ब्वाइजले नै एएफसी कपमा सहभागिता जनाउने एन्फाले जानकारी दिएको छ।
क्लब फुटबलको न्यूनतम मापदण्डमा आफ्नै खेल मैदान, प्रशिक्षण मैदान र एकेडेमी हुनैपर्छ। तर, नेपालको शीर्ष डिभिजनका अधिकांश क्लबसँग आफ्नै मैदान र एकेडेमी छैन। यही कारण ‘ए’ डिभिजनका दुई क्लबबाहेक अन्यले लाइसेन्स पाएनन्।
गत वर्ष दुई विभागीय टोली आर्मी र एपीएफसँगै साविक उपविजेता मछिन्द्रले मात्रै क्लब लाइसेन्स पाएका थिए। अघिल्लो वर्षपनि यी तीन क्लबले मात्र लाइसेन्स पाएका थिए। यसपटक एपीएफ र मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गर्न सकेनन्।
गत वर्षको लिग विजेता चर्च ब्वाइजसँग एफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो।
आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा), एरिक विष्ट (संकटा), लाकेन लिम्बू (थ्रीस्टार), मेसुके ओलमोउ (खुमलटार), सनिष श्रेष्ठ (एपीएफ), रेजिन सुब्बा (खुमलटार) र रोहित सुब्बा (खुमलटार)सहित ८ जना नयाँ खेलाडी अनुबन्ध गर्दै बलियो टोली बनाएको मछिन्द्र प्रारम्भिक चरणको दोस्रो राउन्डसम्म पुगेको थियो।
पहिलो राउन्डमा भुटानको पारो एफसीलाई घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ३-२ गोल अन्तरले पाखा लगाउँदै मछिन्द्र अर्को राउन्डमा पुगेको थियो।
तर, दोस्रो राउन्डमा भारतको मोहन बगानले घरेलु मैदान साल्ट लेक स्टेडियममा मछिन्द्रलाई ३-१ गोल अन्तरको हार चाख्दै नेपाल फर्काइदिएको थियो।