पोखरा। बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ।
पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्ट्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो। एलजीको जितमा आशिष गुरुङ नायक बने। एलजीका लागि ३ गोल आशिषले नै गरे।
पहिलो हाफको १७औँ मिनेटमा उनले गोलको खाता खोलेका थिए। दोस्रो हाफको २४औँ र ३९औँ मिनेटमा गोल गर्दे व्यक्तिगत ३ गोल गरे। खेलको म्यान अफ दी म्याच पनि आशिष नै भए।
उपाधि जितेको एलजीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो। त्यसैगरी, उपविजेता भ्यालीलाई शिल्ड,मेडल तथा प्रमाणपत्रसहित ६६ हजार ६६ सय ६६ प्रदान गरिएको खेल संयोजक नरजंग गुरुङले जानकारी दिए।
प्रतियोगिताबाट एलजी एशोसियसनका यमबहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए। त्यसैगरी, सोही क्लबकै आशिष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने। भ्यालीका गोलकिपर सृजन श्रेष्ठ उत्कृष्ट गोलकिपर,एलजीको कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजीकै प्रेम छन्तयाल उत्कृष्ट मिडफिल्डर चुनिएका थिए।
विजेता टोलीले प्रदेशस्तरीय फुटबलमा सिधै भाग लिन पाउने व्यवस्था छ। तर, अहिले नै एन्फाले त्यसको निर्णय गरिनसकेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल्ल रंजितले बताए।
वैशाख १९ गतेबाट संचालन भएको फुटबल प्रतियोगितामा संघमा आबद्ध २१ क्लबले भाग लिएको थियो।