काठमाडौँ। बायर लेभरकुजनले बुन्डेसलिगामा बोचुमलाई ५–० गोल अन्तरले पराजित गर्दै सिजनको अपराजित यात्रालाई सबै प्रतियोगितामा हाफ सेन्चुरी (५० खेल)मा पुर्याएको छ।
लेभरकुजनले गत सिजनको अन्तिम दिन सोही मैदानमा बोचुमसँग ३–० गोल अन्तरको हार बेहोरेको थियो। जाबी अलोन्सोको टोलीले त्यसपछि कुनै पनि खेल पराजित भएको छैन।
योसँगै लेभरकुजनले पोर्चुगिज क्लब बेनफिकाको १९६३ को अन्त्यदेखि १९६५ को शुरूआतसँग सबै प्रतियोगिताहरूमा लगातार ४८ खेलमा अपराजित रहने रेकर्डलाई तोडेको छ।
पहिलो पटक बुन्डेसलिगाको उपाधि जितेको लेभरकुजनले जर्मन कप र युरोपा लिगको फाइनलमा पुगिसकेको छ।
लेभरकुजनका मिडफिल्डर रोबर्ट एन्ड्रिचले भने, ‘बुन्डेसलिगा शुरू भइसकेको छजस्तो मलाई लाग्छ। अर्को हप्ता हाम्रो रंगशालामा हामी ट्रफी उचाल्नेछौँ। यो धेरै भावनात्मक हुनेछ। र, त्यसपछि हामी डबलिन जान्छौँ अनि बर्लिन पनि। हामी त्यहाँ दुई उपाधि प्राप्त गर्न चाहन्छौँ र त्यसपछि हामी ट्रिपलको साथ छुट्टीमा जान चाहन्छौँ।’
युरोपा लिगको फाइनलमा लेभरकुसेनले इटालियन टोली एटलान्टाको सामना गर्नुभन्दा तीन दिनअघि बर्लिनमा हुने जर्मन कपको फाइनलमा काइसरस्लाउटर्नको सामना गर्नेछ ।
बोचुमले आइतबार उत्साहजनक शुरूआत गरे पनि १५औँ मिनेटमा फेलिक्स पासल्याकले नाथन टेलालाई लडाएपछि रातो कार्ड पाएका थिए। त्यसपछि खेलमा लेभरकुजन हाबी भएको थियो।
खेलको ४१औँ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै लेभरकुजनलाई शुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भिक्टोर बोनिफेसले अग्रता दोब्बर बनाए। बुन्डेसलिगामा उनको यो १३औँ गोल हो।
७६औँ मिनेटमा अमिन अदीले गोल गरे। ८६औँ मिनेटमा जोसिप स्टानिसिकले अग्रता ४–० मा पुर्याए। दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गर्दै लेभरकुजनलाई ५–० को सहज जित दिलाए।
लेभरकुसेनले एक राउन्ड बाँकी छँदै लिग तालिकामा ८७ अंकमा पुर्याएको छ। अर्को साता वेर्डर ब्रेमेनमा हुने अन्तिम खेलअघि बोचुम भने रेलिगेशन जोनभन्दा तीन अंकले माथि छ।