काठमाडौँ। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले केलियन एमबाप्पेलाई भित्र्याउने या नभित्र्याउने भन्नेबारे सोच्न आफूसँग समय नभएको बताएका छन्।
एमबाप्पेले शुक्रबार नै पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने घोषणा गरिसकेका छन्। उनको सम्भावित गन्तव्य रियल रहेको अड्कलबाजी भइरहेका छन्। तर, पत्रकार सम्मेलनमा एन्सेलोट्टीले उनको अबको गन्तव्य रियल हो या होइनन् भन्नेबारे खुलाउन चाहेनन्।
एन्सेलोट्टीले १ जुनमा बोरुसिया डर्टमन्डविरुद्ध हुने च्याम्पियन्स लिगको फाइनलका बारेमा आफू र आफ्नो टोलीले ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्। एन्सेलोट्टीले शनिबार भने, ‘(एमबाप्पेको भविष्यबारे मैले अहिले सोच्ने विषय होइन। हामीले १ जुनसम्म कुन कुरामा ध्यान केन्द्रित गर्न आवश्यक छ भन्ने कुरा हामीलाई थाहा छ।’
एमबाप्पेले पीएसजीका लागि आफ्नो अन्तिम घरेलु खेल आइतबार टुलुजविरुद्ध हुने बताएका छन्। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले एमबाप्पेले आफ्नो गन्तव्य कता हो भन्नेबारे क्लबलाई जानकारी दिएका छैनन्।
‘उनले अझै पनि आफू कहाँ जाँदैछन् भन्नेबारे बताएका छैनन्। तर, उनी कहाँ जाँदैछन् भन्ने कुरा स्पष्ट छ,’ उनले भने, ‘मैले उनको निर्णय बुझेको छु। सात वर्षमा उनले क्लबलाई सबै कुरा दिएका छन् र क्लबले उनलाई सबै कुरा दिएको छ। म उनलाई आगामी यात्राका लागि शुभकामना दिन चाहन्छु।’
रियल लामो समयदेखि फ्रान्सका फरवार्डसँग जोडिएको छ। सन् २०२१ मा एमबाप्पेलाई भित्र्याउन रियलले १८ ० मिलियन युरोको प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव पीएसजीले अस्वीकार गरेको थियो। यस सिजनको शुरूआतमा उनले आफूले पीएसजी छाड्न लागेको जानकारी दिएका थिए।