काठमाडौँ। अन्तिम १० मिनेटमा दुई गोल गर्दै चेल्सीले इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनभन्दा एक स्थानमाथि रहेको नटिंघम फरेस्टलाई पराजित गरेको छ।
सिटी ग्राउन्डमा शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीलाई ३-२ गोल अन्तरले पाखा लगाएको हो। जितसँगै सातौँ स्थानमा रहेको चेल्सीले ३६ खेलबाट ५७ अंक जोडेको छ। पराजित नटिंघम ३७ खेलबाट २९ अंक जोड्दै १७औँ स्थानमा छ।
खेलको आठौँ मिनेटमै कोल पाल्मरको पासमा मिखाइलो मुड्रिकले गोल गर्दै चेल्सीलाई शुरूआती अग्रता दिलाएका थिए।
१६औँ मिनेटमा विली बोलीले गोल गर्दै नटिंघमलाई खेलमा फर्काए। उनले मोर्गन गिब्स व्हाइटको पासमा गोल गरे।
७४औँ मिनेटमा क्यालम हडसनले गोल गर्दै नटिंघमलाई २-१ को अग्रता दिलाए। उनले मोर्गनको पासमै गोल गरेका हुन्। तर, त्यसको ६ मिनेटमै रहिम स्टर्लिङले गोल गर्दे चेल्सीलाई खेलमा फर्काए।
८२औँ मिनेटमा निकोलस ज्याक्सनले गोल गरे। उनले रिस जेम्सको पासमा गोल गरेका हुन्। योसँगै चेल्सी खेलमा ३-२ ले विजयी भयो।