काठमाडौँ। इङ्लिस प्रिमियर लिगमा रेलिगेशनमा परिसकेको शेफिल्ड युनाइटेडले अवाञ्छित इतिहास रचेको छ।
गुडिसन पार्क शनिबार राति सम्पन्न खेलमा घरेलु टोली एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको शेफिल्डले खराब इतिहास रचेको हो।
खेलको ३१औँ मिनेटमा डोमिनिक क्याल्भर्ट-लेविनको पासमा अब्दुलाये डोकोरे गोल गरेसँगै शेफिल्ड युनाइटेड प्रिमियर लिगमा एकै सिजनमा १०१ गोल खाने पहिलो टोली बन्यो।
यसअघि यो कीर्तिमान स्विन्डन टाउनको नाममा थियो। सन् १९९३-९४ को सिजनमा रेलिगेशन भएको स्विन्डन टाउनले प्रिमियर लिगमा १०० गोल खाएको थियो।
यद्यपि, उक्त बेला २२ क्लबले प्रिमियर लिगका ४२ खेल खेलेका थिए। हाल प्रिमियर लिगमा २० क्लब रहेका छन्। यी क्लबले ३८ खेल खेल्दै सिजनको अन्त्य गर्ने छन्।
शेफिल्ड युनाइटेड गुडिसन पार्कको यात्रा गर्नुअघि नै रेलिगेशनमा पर्ने निश्चित भइसकेको थियो। एक खेल खेल्न बाँकी शेफिल्ड युनाइटेडको १६ अंक रहेको छ।
शेफिल्ड युनाइटेडसँगै २४ अंक जोडेको बर्नेली र २६ अंक जोडेको लुटन टाउन रेलिगेशन जोनमा रहेका छन्। एभर्टन भने ४० अंकसहित १५औँ स्थानमा छ।