काठमाडौँ। महावीर क्लबलाई पराजित गर्दै पुल्चोक स्पोर्ट्स क्लब शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष तीनमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा पुल्चोकले महावीरलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै तेस्रो स्थानमा उक्लिएको पुल्चोकले ७ खेलबाट १५ अंक जोडेको छ। पराजित महावीर समान खेलबाट ८ अंक जोड्दै १०औँ स्थानमा यथावत् छ।
पुल्चोकका सुमन श्रेष्ठले २ गोल गर्दा सरबलो तामाङ र सुमित मलाहको नाममा १/१ गोल रह्यो। खेलको १७औँ मिनेटमा सरबलोले पुल्चोकलाई शुरूआती अग्रता दिलाए।
६३औँ मिनेटमा सुमनले गोल गर्दै पुल्चोकको अग्रता दोब्बर बनाए। ७०औँ मिनेटमा सुमितले गोल गर्दै पुल्चोकको अग्रता ३-० मा पुर्याए। ८६औँ मिनेटमा सुमनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पुल्चोकलाई शानदार जित दिलाए।