काठमाडौँ। रानीवन स्पोर्ट्स क्लबलाई पराजित गर्दै बागमती यूथ क्लब शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न खेलमा बागमतीले रानीवनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै बागमतीले ७ खेलबाट १६ अंक जोडेको छ। पराजित रानीवन समान खेलबाट ६ अंक जोड्दै १२औँ स्थानमा छ।
बागमतीको जितमा दीपेश राईले २ गोल गरे। यस्तै, सृर्जनराज गौतमको नाममा १ गोल रह्यो। रानीवनका विष्णु चौधरीले १ गोल फर्काए।
दीपेशले खेलको ४८औँ मिनेटमा गोल गर्दै बागमतीलाई शुरूआती अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा उनले नै बागमतीको अग्रता दोब्बर बनाए।
८३औँ मिनेटमा विष्णुले गोल गर्दै रानीवनलाई २-१ को स्थितिमा ल्याए। तर, दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सृजनराजले गोल गर्दै बागमतीलाई ३-१ ले जिताए।