काठमाडौँ। जर्मन क्लब बायर्न म्युनिखमाथि पुनरागमन जित हासिल गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको उपाधिनजिक पुगेको छ।
सान्टियागो बर्नाबेउ स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बायर्नलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल फाइनलमा पुगेको हो।
समग्रमा रियलले बायर्नमाथि ४-३ गोल अन्तरको जित हासिल गर्यो। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए।
खेलमा शुरूआती अग्रता भने बायर्नले लिएको थियो। खेलको ६८औँ मिनेटम ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गर्दै पाहुना टोलीलाई शुरूआती अग्रता दिलाएका थिए।
तर, त्यो अग्रता बायर्नले अन्तिम २ मिनेट जोगाउन सकेन। ८८औँ मिनेटम माटो जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ३ मिनेटपछि नै एन्टोनियो रुडिगरको पासमा उनले नै दोस्रो गोल गर्दै रियललाई २-१ को पुनरागमन जित दिलाए।
अब उपाधिका लागि रियलले अर्को जर्मन क्लब बोरुसिया डर्टमन्डसँग खेल्ने छ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली पेरिस सेन्ट जर्मन (पीएसजी)लाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमुन्ड फाइनलमा पुगेको हो।
समग्रमा डर्टमन्डले पीएसजीमाथि २-० गोल अन्तरको जित हासिल गर्यो। पहिलो लेगमा पनि डर्टमन्टले पीएसजीलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो। सिग्नल इडुना पार्क भएको खेलमा निकलस फुलक्रगले निर्णायक गोल गरेका थिए।