एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले बुर्टोन अल्बियोनलाई ९ - ० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीको फराकिलो जितमा गाब्रियल जिससले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै केभिन डी ब्रुएन, ओलेजान्द्रा जिन्चेन्को, फिल फाडेन, केली वाल्कर र रियाद महरेजले एक एक गोल गरे ।
सिटीले बुर्टोनविरुद्ध पहिलो हाफमै चार गोल गरेको थियो । खेलको पाँचौ मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३० र ३४ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता ३ - ० को बन्यो । ३७ औं मिनेटमा जिन्चेन्कोले गोल गरेपछि सिटीले पहिलो हाफमा ४- ० को अग्रता बनायो ।
दोस्रो हाफमा सिटीले थप पाँच गोल गर्यो । ५७ औं मिनेटमा जिससले गोल गर्दै ह्याट्रिक पुरा गरे । ६२ औं मिनेटमा फाडेनले गोल गर्दै सिटीको अग्रता ६ - ० को बनाए । ६५ औं मिनेटमा जिससले व्यक्तिगत चौथो गोल गर्दा सिटीको अगरता थप फराकिलो बन्यो । त्यसपछि खेलको ७० औं मिनेटमा वाल्कर र ८३ औं मिनेटमा महरेजले गोल गरेपछि सिटीले ९ - ० को फराकिलो जित निकाल्यो ।
यो फराकिलो जितसंगै सिटी फाइनल नजिक पुगेको छ । अब सिटीले बुर्टोनसंग आगामी जनवरी २३ मा दोस्रो लेग खेल खेल्नेछ ।
दोस्रो लेगमा जित, बराबरी र झिनो अन्तरको हार व्यहोरेपनि सिटी फाइनल पुग्नेछ । फाइनल पुगे सिटीले उपाधिका लागि टोटेनहम र चेल्सीबीचको विजेतासंग खेल्नेछ । पहिलो लेगमा टोटेनहम १ - ० ले अघि रहेको छ ।