पाँचथर । डिफेन्डिङ च्याम्पियन सुनसरी ११, फिदिममा भइरहेको रुस्लान १० औं फाल्गुनन्द गोल्डकपबाट बाहिरिएको छ । बुधबार भएको खेलमा सुरुवाती अग्रतालाई जोगाउन नसक्दा सुनसरी पराजित हुन पुग्यो ।
सरस्वती क्लबले डिफेन्डिङ च्याम्पियन सुनसरीलाई २–१ ले पराजित गर्न सफल भएको हो ।
खेलको पहिलो मिनेटमा सरस्वतीका तीर्थ बस्नेतको फितलो प्रहार सुनसरीका गोलकिपरले सहजै बचाएका थिए । आठौं मिनेटमा सुनसरीका उमेश राईको सुन्दर क्रसमा दिपेन तामाङले गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई अग्रता दिलाए ।
२१ औं मिनेटमा सरस्वतीका सोलोको सुन्दर फ्रिकिकलाई सुनसरीका गोलकिपर विष्णु चौधरीले उत्कृष्ट बचाउ गरे ।
२६ औं मिनेटमा तीर्थ बस्नेत वान भर्सेस वानमा चुक्दा सरस्वतीले बराबरी गर्ने अवसर गुमाएको थियो ।
खेलमो ७६ औं मिनेटमा सुनसरीका डिफेन्डरलाई बिट गर्दै सरस्वतीका भिक्टरले खेल बराबरीमा ल्याए ।
८० औं मिनेटमा भिक्टोरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
सुनसरीका सजन राईले इन्जुरी टाइममा वान भर्सेस वान गोल गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
दुई गोल गरेका भिक्टोर म्यान अफ दि म्याच घोषित भए ।