काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो संस्करणको नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा पुलिसले मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ । पुलिसलाई अन्तिम ८ मा पु¥याउन तीर्थ रानाले ह्याट्रिक पुरा गरे।
खेलको सुरुवाती समयदेखि दवाव बनाएको पुलिसले सातौ मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् ।
३५ औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे । अभिषेकले विङ्गबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे ।
दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
पराजित टोलीका प्रशिक्षक संजिव बुढाथोकीले बलियो पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केहि नयाँ भएकोले सेट हुन समय लागेपनि नतिजा हात पार्दा खुसी रहेको बताए ।
पुलिसले अब पुष २९ गते हुने क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दीको सामना गर्नेछ ।