एजेन्सी । विश्वकप विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभर्ड जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
वायर्नले बुधबार जर्मन क्लब स्टुटगार्डका डिफेन्डर पाभर्डलाई अनुबन्ध गरेको घोषणा गरेको हो । वायर्नले पाभर्डसंग पाँच बर्षे सम्झौता गरेका छन् । तर, पाभर्ड आगामी जुलाईबाट वायर्नमा सामेल हुनेछन् ।
'बेन्जामिन जुलाई १ बाट क्लबमा आउने घोषणा गर्न चाहन्छु,' वायर्नका स्पोर्ट्स डिरेक्टरले भनेका छन्, 'उनले पाँच बर्षे सम्झौता गरेका छन् ।'
पाभर्डका वायर्नले ३५ मिलियन पाउण्ड खर्च गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् ।
विश्वकप विजेता फ्रान्सका २२ बर्षे पाभर्डले यसै वर्ष रुसमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपमा पाभर्डले अर्जेन्टिना र क्रोएसियाविरुद्ध गरेको गोलको चर्चा अहिले पनि हुने गरेको छ।