काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा चितागोङ भीकिङसलाई ५ रनले हराएर सिक्सर्सले पहिलो जित दर्ता गरेको हो ।
ढाकामा सिक्सर्सले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भीकिङसले पुरै २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउन सक्यो । भीकिङसका लागि रोबी फ्राईलिंकले अविजित ४४ रन जोड्दा क्यामरुन डेलपोर्टले ३८ रन जोडे । सिक्सर्सका तास्किन अहमेदले ४ विकेट लिए ।
चितागोङ भीकिङसविरुद्धको खेलमा सन्दीपले भने विकेट लिन सकेनन् । सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए । डेब्यु खेलमा सन्दीपले २ विकेट लिएका थिए ।
योसंगै सन्दीप सात खेलपछि विकेट लिन असफल भएका छन् । सन्दीपले पछिल्लो विभिन्न सात खेलमा विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६८ रन बनायो । सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र निकोल्स पुरनले अर्धशतकीय इनिङस खेले । वार्नरले ५९ रन जोड्दा पुरनले अविजित ५२ रन जोडे ।
यस्तै अफिफ हुसेनले ४५ रन बनाए । भीकिङसका रोबी फ्राईलिंकले ३ विकेट लिए ।
यसअघि पहिलो खेलमा सिक्सर्स कोमीला भिक्टोरियन्ससंग पराजित भएको थियो । भीकिङसको भने यो पहिलो हार हो ।