काठमाडौं । युएईसंगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।
आगामी माघको दोस्रो साताबाट सुरु हुने सिरिजका लागि बुधबारबाट नेपाली टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षणको पहिलो दिन खेलाडीहरुले शारीरिक अभ्यास गरेका छन् ।
बिहिबारबाट टोलीको पुर्व प्रशिक्षण सुरु हुने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटाले खेलपाटीलाई जानकारी गराए ।
पहिलो दिनको बन्द प्रशिक्षणमा १६ खेलाडी सहभागी भएको प्रशिक्षक टमटाले बताए ।
'आजबाट बन्द प्रशिक्षण सुरु भएको छ । प्राय सबै खेलाडी सहभागी भएका छन्,' प्रशिक्षक टमटाले खेलपाटीसंग भने, 'केहि खेलाडी प्रतियोगिताका लागि इनरुवा रहेका छन् । उनीहरु बिहिबार क्याम्पमा सामेल हुनेछन् । बिहिबारबाट आउटडोर प्रशिक्षण सुरु हुनेछ ।'
बन्द प्रशिक्षणका लागि नेपालले २० खेलाडीलाई बोलाएको छ । जसमा केहि खेलाडी सुनसरीको इनरुवामा जारी एमएम कप एकदिवसीय क्रिकेटमा व्यस्त रहेका छन् । यस्तै कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा रहेका छन् ।
बन्द प्रशिक्षणपछि युएईसंग खेल्ने नेपाली टोलीको घोषणा हुनेछ । नेपालले माघ ११ देखि माघ २० सम्म युएईको भ्रमण गर्नेछ ।
नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ ।
युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ - १ को बराबरी भएको थियो ।
नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।
बन्द प्रशिक्षणमा रहेका नेपाली टोली :
पारस खड्का (कप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिक्रम सोब
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
यानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी सन्दीप जोरा
सुशन भारी