काठमाडौँ। नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन क्लब आरसी ३२ का दुई खेलाडीलाई ‘ड्रप’ गर्न निर्देशन दिएको छ।
लिग खेलिरहेका १४ मध्ये ९ क्लबले ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगर र श्री भगवती यूथ क्लबमा दर्ता भएका बबिन बोहरालाई खेलेका भन्दै विरोध गरेका थिए।
शुक्रबार ९ क्लबले स्वयम्भू क्लब र समाज यूथ क्लबबीचको खेलमा खेलाडी मैदान उतार्न अस्वीकार गरेपछि एन्फाले बैठक राखेको थियो।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले नियमअनुसार बुझेर निर्णय गर्ने वचन दिएपछि खेल एक घण्टा ढिला गरी खेल शुरू भएको थियो। स्वयम्भूले भने श्री भगवती क्लबमै दर्ता भएको अशोक दर्लामीलाई हटाएर खेल खेल्न सहमत भएको थियो।
यद्यपि, म्याच कमिश्नर सञ्जीव मिश्रले आरसी ३२ लाई पनि विवादमा परेका दुई खेलाडीलाई ‘ड्रप’ गर्न मैखिक रूपमा भनेका थिए। तर, मुख्य प्रशिक्षक गणेश खड्काले भने आफूले नियमअनुसार नै खेलाडी खेलाइरहेको कारण कुनै हालतमा सुमन र बबिनलाई ‘ड्रप’ नगर्ने खेलपाटीलाई बताए।
‘सुमनलाई झापाले अनुबन्धमै राखेको छैन। बबिनले पनि भगवती क्लबबाट प्रतियोगिता शुरू हुनुभन्दा अगाडि नै रिलिज लेटर लिएर आएका हुन्। हामी कानूनी रूपमै खेलाडी खेलाइरहेका छौँ। दुई खेलाडी ड्रप गर्न भन्नुभएको रहेछ। तर, के कारण हो किन हो भनेर हामीलाई कुनै जानकारी नै दिइएको छैन,’ उनले भने।
शुक्रबार दिनको दोस्रो खेलमा शीर्ष स्थानमा रहेको आरसी ३२ ले सामाजिक कल्याण स्पोर्ट्स सेन्टर क्लबसँग खेल्दै छ। यो खेल अपराह्न ४:१५ बजेदेखि हुँदै छ। प्रशिक्षक खड्का अनुसार विवाद आएपछि सुमनलाई बागमती यूथ क्लबसँगको खेलमा आरसी ३२ ले खेलाएको थिएन। यद्यपि, पटकपटक मुख्य खेलाडीलाई नखेलाउन भनिरहेको खड्काले बताए।
‘आज एक क्लबले विरोध गर्यो त्यो खेलाडीलाई हामीले खेलाएनौँ रे। भोलि अर्को खेलाडीको यस्तै कुरा आउला। सबैलाई हामीले ड्रप गर्दै जाने हो? हामी लिग जित्न आएका हौँ। त्यही अनुसार हामीले खेलाडी खेलाइरहेका छौँ। अब मुख्य खेलाडीलाई नै नखेला भनेपछि हामीले के गर्ने?,’ उनले भने।
सी’ डिभिजन क्लबका संयोजक तथा महावीर क्लबका अध्यक्ष दिवाकर घलेको नेतृत्वमा ९ क्लबले गत बैशाख १० गते आरसी ३२ ले नियमविपरित अर्कै क्लबको खेलाडी खेलाएको भन्दै एन्फा अध्यक्ष नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
तर, आरसी ३२ र स्वयम्भूलाई कारबाही गर्ने छाँटकाँट नदेखाएपछि बिहीबार पुनः उनीहरूले यसबारे स्मरण गराउँदै शुक्रबारको खेल नखेल्ने चेतावनी दिएका थिए।
एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न पाउने उल्लेख छ। तर, आरसी ३२ र स्वयम्भूले ‘बी’ डिभिजन क्लबमा दर्ता भएको खेलाडीलाई खेलाएको भन्दै उनीहरूले कारबाहीको माग गरेका छन्।
४ खेल खेलिसकेको आरसी ३२ ३ जित र १ हारसहित १० अंकसहित शीर्ष स्थानमा रहेको छ। समान खेल खेलेको पुल्चोक स्पोर्ट्स क्लब ९ अंकसहित दोस्रो स्थानमा छ।