काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको दोस्रो खेल आज (बुधबार) खेल्दैछ ।
ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले चितागोङ भीकिङससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ ।
पहिलो खेलमा पराजित सन्दीपको टिम सिक्सर्स पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित भएको थियो । भीकिङस भने लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।
बीपीएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ । डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए ।