फिदिम । त्रिभुवन आर्मी क्लब पाँचथरको फिदिममा जारी १० औं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको क्वाटरफाइनलमा आयोजक एनएमबी फिदिम स्पोर्टिङ क्लबलाई टाईब्रेकरमा ४ - १ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।
फिदिम माबिको खेल मैदानमा भएको खेलको निर्धारित समय २ - २ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकर आर्मीका गोलकिपर विश्वास चौधरी नायक बने ।
टाईब्रेकरमा आर्मीका गोलकिपर विश्वासले फिदिमका सरन बस्नेत र ओम बिक्रम घलेको प्रहार बचाएका थिए । फिदिमका प्रविण जबेगुले मात्र गोल गरेका थिए । आर्मीका लागि भने राजीव गुरुङ, राजेश पौडेल, एरीक विष्ट र विश्वास चौधरीले पेनाल्टीमा गोल गरे ।
त्यसअघि खेलको ३१ औं मिनेटमा राजीव गुरुङले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा फिदिमका प्रविण जबेगुको प्रहारलाई आर्मीका गोलकिपरले बचाए । लगत्तै ३७ औं मिनेटमा आर्मीका सुदिपराज श्रेष्ठले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।
तर, खेलको ६९ औं मिनेटमा प्रविण जबेगुले गोल गर्दै फिदिमलाई खेलमा फर्काए । त्यसपछि खेलको ७१ औं मिनेटमा विदेशी खेलाडी स्टेफेनले गोल गर्दै फिदिमलाई २ - १ को अग्रता दिलाए । तर, ७३ औं मिनेटमा राजीव गुरुङले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २ - २ गोलको बराबरीम सकिएको थियो ।
खेलमा आर्मीका गोलकिपर विश्वास चौधरी ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार नगद प्राप्त गर्न सफल भए ।
प्रतियोगिता अन्तर्गत बुधबार सरस्वती युथ क्लब र सुनसरी ११ ले प्रतिस्पर्धा गर्नेछन् ।