धनगढी । मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम-११ क्लबलाई सडन डेथमा ७ - ६ गोल अन्तरले पराजित गर्दै मेची नत्रालयले विजयी सुरुवात गरेको हो ।
धनगढी रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा गोलरक्षक दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि मेचीले दोस्रो चरणको यात्रा तय गरेको हो ।
सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काकरभिट्टाको जित पक्का भएको थियो । त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बनेका थिए । दिपले सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए । सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतन कुमार थारुले गोल गरे ।
काकरभिट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे ।
अब काकरभिट्टाले पुष २८ गते एपीएफको सामना गर्नेछ ।