काठमाडौं । राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल मंगलबारबाट सकिएको छ । मंगलबार अन्तिम चरणका दुई खेलसंगै रेलिगेसन बिनाको लिग सकिएको हो ।
एन्फा कम्प्लेक्स र हल्चोकस्थित एपीएफ मैदान सम्पन्न लिगको उपाधि सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले जित्यो । यस्तै सिएमजी संकटा क्लब दोस्रो स्थानमा रह्यो । ललितपुरको क्लब रुस्लान थ्री स्टार तेस्रो स्थानमा रह्यो ।
उपाधिसंगै मनाङले ५० लाख नगद प्राप्त गरेको छ । यस्तै संकटाले ३५ लाख पुरस्कार पाउदा थ्री स्टारले २५ लाख नगद पुरस्कार प्राप्त गर्यो ।
१४ क्लबले प्रतिस्पर्धा गरेको लिगमा विजेता, उपविजेता र तेस्रोसंगै शीर्ष ६ स्थानमा रहने टोलीले नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै पुछारको दुई टोलीले भने ऋण अंक प्राप्त गरेको छ । लिगको पुछारमा मछिन्द्र र एनआरटी रह्यो ।
कुन कुन टिम शीर्ष ६ मा अटाए र कति नगद पुरस्कार पाए ? सूची हेर्नुस् :
विजेता : ५० लाख, एएफसी एसियन कपमा सहभागिता (मनाङ मर्स्याङ्दी क्लब )
उपविजेता : ३५ लाख (सिएमजी संकटा क्लब )
तेस्रो : २५ लाख ( रुस्लान थ्री स्टार क्लब )
चौथो : १५ लाख (त्रिभुवन आर्मी क्लब)
पाँचौ : ७ लाख (नेपाल एपीएफ क्लब)
छैटौं : ५ लाख (नेपाल पुलिस क्लब)
फेयर प्ले टिम : १ लाख (ब्रिगेड ब्वाइज)