धनगढी । धनगढीमा आज (मंगलबार) बाट तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसंग प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको उद्घाटन खेल दिउसो २:३० बजे सुरु हुनेछ ।
मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिता खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।
उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।