एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटीका युवा मिडफिल्डर ब्राहिम डियाजलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ ।
१९ बर्षे डियाजलाई सोमबार रियलले ६ बर्षको लागि क्लबमा अनुबन्ध गरेको छ । अनुबन्धसंगै डियाज सन् २०१५ सम्म रियलमा रहनेछन् । रियलका अध्यक्ष फ्लोरेन्टिनो परेज र डियाजले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
स्पेनिस युवा मिडफिल्डर डियाजलाई १५ मिलियन पाउण्डमा रियलले अनुबन्ध गरेको हो । रियलले डियाजलाई सोमबार नै सार्वजनिक गरेको छ । रियलले डियाजलाई २१ नम्बरको जर्सी दिएको छ ।
रियलसंगको सम्झौतापछि बोल्दै डियाजले यस क्षण जिन्दगी महत्वपूर्ण क्षण रहेको बताए ।
'म जुन क्लबमा अनुबन्धित भएको छु मैले बच्चा हुँदैबाट यस क्लबबाट खेल्ने सपना देखेको थिए । यो मेरो लागि जिन्दगीको सबैभन्दा महत्वपूर्ण दिन हो,' डियाजले भने ।
यस्तै उनले आफुले सिटी छाड्ने तयारी गरेपछि रियल बाहेक अन्य क्लबबारे सोच्दै नसोचेको बताए । 'जब मैले सिटी छाड्ने निर्णय गरे मैले तीन कुरामा मात्र ध्यान दिए,' डियाजले थपे, 'पहिलो रियलमा अनुबन्ध हुने, दोस्रो रियलबाट खेल्ने र तेस्रो रियलबाटै खेल्ने । अन्य अवसर मैले चाहिन ।'
स्पेनिस यू-२१ टिमका सदस्य डियाज सन् २०१३ मा १४ बर्षको उमेरमा स्पेनिस क्लब मालागाबाट सिटी गएका थिए । उनले सिटीका लागि १५ खेल खेलेका थिए ।
यस्तै डियाजलाई क्लबमा अनुबन्ध गरेपछि अध्यक्ष परेजले प्रतिभावान खेलाडी अनुबन्ध गरेको बताए ।