फिदिम । झापा-११ पाँचथरको फिदिममा जारी १० औं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको क्वाटरफाइनलमा एपीएफ क्लबलाई ३ - १ गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
एपीएफमाथि पहिलो हाफबाटै दबाब बनाउन सफल झापाले खेलको २४ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता बनाएको थियो । त्यसअघि खेलको १९ औं मिनेटमा एपीएफका रबि थिङको उत्कृष्ट प्रहार झापाका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।
तर, झापाको सुरुवाती अग्रता धेरेबेर टिक्न सकेन । खेलको ३२ औं मिनेटमा एपीएफका मनिष लामाले गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याए । खेलको ३९ औं मिनेटमा झापाका दिलेन लोक्तामले गोल गरेपछि पहिलो हाफमा झापा २ - १ गोल अन्तरले अघि रह्यो ।
दोस्रो हाफमा झापाविरुद्ध एपीएफले दबाब बढायो । खेलको ६६ औं मिनेटमा रबि थिङ र ६८ औं मिनेटमा दिपक खडकाको सुन्दर प्रहारलाई झापाका मनोज प्रधानले उत्तिकै सुन्दर बचाउ गरे । त्यसपछि खेलको अन्तिम समयतिर झापाका कर्ण लिम्बु दृश्यमा आए । उनले खेलको अन्तिम समयमा व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई ३ - १ को सहज जित दिलाए ।
झापाको जितमा उत्कृष्ट प्रदर्शन गरेका कर्णले खेलमा म्यान अफ दि म्याच चुनिदै १० हजार नगद प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।